काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई आफ्नो पार्टीमा फर्किन आग्रह गरेका छन्। कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहयात्रा तोडेपछि पौडेलले सार्वजनिक रूपमा यस्तो आग्रह गरेका हुन्।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक मानिने नेता पौडेलले प्रधानमन्त्री आफ्नो पार्टीले बनाउने दाबीसमेत गरेका छन्। उनले भनेका छन्, “कुलमानजी, सद्भावका साथ तपाईंलाई अनुरोध छ—आफ्नो घर फर्किनुहोस्। आत्मकेन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा खडा हुनुभयो भने तपाईंलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।”

पौडेलले नेपाली कम्युनिस्ट पार्टी संघीयता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता तथा गणतन्त्रको ‘पिता’ भएको दाबी गरेका छन्। उनले प्रतीकात्मक भाषामा भने, “आफ्ना पिता अलिक बुढा भए भन्दैमा मितबालाई असली पिता ठान्नु हुँदैन। आफ्नो घरको रङ पुरानो भयो भनेर छिमेकीकहाँ शरण लिन कुदिहाल्नु पनि हुँदैन।”
उनले थप्दै समय अझै बाँकी रहेको उल्लेख गरे। “समय दुई दिन बाँकी छ। बत्तीको चिमले आफैँ उज्यालो दिने होइन, विद्युत् उत्पादन गर्ने पावरहाउस नेपाली कम्युनिस्ट पार्टी हो,” भन्दै कुलमान घिसिङलाई पुनः विचार गर्न आग्रह गरे।













