राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको सहमति कार्यान्वयनको प्रक्रियामा जाने बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले बुधबार घिसिङले मन्त्रीबाट राजीनामा दिएकाले सहमति प्रक्रियामा जाने बताएका हुन्।
रास्वपा र उनेपाबीच पार्टी एकताको सहमति भएको छ। सहमतिअनुसार निर्वाचन आयोगमा समानुपातिकतर्फ एकीकृत सूची पनि उनीहरूले बुझाएका छन्।

तर मन्त्री घिसिङ रास्वपाको बैठकमा गएका छैनन्। उनले शपथ पनि लिएका छैनन्। उनले मात्र नभई उनेपाले केन्द्रीय कमिटीमा नाम पनि पठाएको छैन।
बुधबार राजीनामा दिने क्रममा घिसिङले रास्वपासँगको सहमति कार्यान्वयनमा आइनसकेको बताएका थिए।
‘सहमति गरेका छौं। त्यो सहमति त पार्टीले प्रोसेस गर्नुपर्ने हुन्छ नि। अब बल्ल उहाँले राजीनामा दिएर आउनुभएको छ। त्यो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरू हुन्छ अब,’ लामिछानेले भने।













