भदौ २३ र २४ को जेनजी आन्दोलन बेला गृहमन्त्री रहेका रमेश लेखकमाथि गोली चलाउने आदेश दिएर निहत्था युवाको ज्यान लिएको आरोप छ।
आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले भने, ‘‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन ।’

‘गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन। सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानुनी जिम्मेवारी छ, न यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ। न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।’
यस विषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर आफूले सुरक्षा समितिको बैठक गर्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय लिएको र सुरक्षा समितिको बैठक सकिनासाथ सिंहदरबारबाट सिधै बालुवाटार गएर ब्रिफिङ गरेको उनले बताएका छन्।
बालुवाटारबाट छुट्टिने बेला पनि प्रधानमन्त्री र आफूले सबै सुरक्षा निकायले समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रबन्ध मिलाउनु भनेको उनले बयानमा उल्लेख गरेका छन्।
‘सुरक्षाको राम्रो प्रवन्ध मिलाउनुहोला र क्याजल्टी नहोस भनेका थियौं,’ उनको बयानमा उल्लेख छ, ‘सबै सुरक्षा निकायका प्रमुख-प्रतिनिधि सोही अनुसार काम गर्ने भनी बिदा हुनु भएको हो। भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस् है, ख्याल गर्नु होला भनेको थिएँ र त्यही कुरा गृह सचिवसँग पनि भएको थियो।













