सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष आकाश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनबहादुर नेपालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो।
पुस ५ गते सम्पन्न उक्त भेलामा पार्टी संगठन विस्तार, श्रममैत्री राजनीति र जनमुखी अभियानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने विषयमा गहन छलफल गरिएको थियो। वक्ताहरूले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकासमार्फत समाज रूपान्तरण सम्भव हुने धारणा व्यक्त गर्दै राजनीतिक नेतृत्व स्वयं श्रममा उत्रिनु आवश्यक रहेको बताए।

भेला सम्पन्न भएपछि पार्टी नेता, कार्यकर्ता तथा सहभागीहरूले त्रिपुरासुन्दरी गाउँपालिकाको स्थानीय बजार क्षेत्रमा श्रम अभियान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्। सहभागीहरूले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम र सन्देश अंकित टिसर्ट लगाएर अभियानमा सहभागिता जनाएका थिए। श्रम संस्कृतिको अभ्यास आफैंबाट सुरु गर्ने उद्देश्यसहित गरिएको उक्त अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।
नवगठित गाउँपालिका कमिटीले त्रिपुरासुन्दरी गाउँपालिका भित्र श्रम अभियानलाई संस्थागत गर्दै सामाजिक न्याय, पारदर्शी नेतृत्व र आत्मनिर्भर स्थानीय विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष आकाश गुरुङले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै श्रम संस्कृती पार्टी सिन्धुपाल्चोक जिल्लामा क्रमशः जनआधार विस्तार गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको बताए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिका कमिटी गठन र श्रम अभियानसँगै सिन्धुपाल्चोक जिल्लामा श्रम संस्कृती पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।













