बलेफी गाउँपालिका–४ मा आज नेपाली कम्युनिष्ट पार्टीको वडा समितिको विस्तारित बैठक सम्पन्न भएको छ। प्रतिनिधि सभा क्षेत्र नं. १ का निवर्तमान सांसद तथा पार्टीका केन्द्रीय युवा नेता माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा पार्टी सुदृढीकरण, स्थानीय संगठन विस्तार तथा आगामी राजनीतिक योजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा प्रदेश सभा सांसद सरलसहयात्री पौडेल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, वडा नं. ४ का अध्यक्ष सुर्जे तामाङ, पार्टी नेता कालिप्रसाद लामालगायतको विशेष उपस्थिति रहेको थियो। सहभागी नेताहरूले गाउँपालिकाभित्रका विकास परियोजना, संगठन निर्माण र कार्यकर्ताको भूमिकाबारे आफ्नो धारणा राख्दै पार्टीलाई थप जनमुखी र सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरे।

बैठकका क्रममा नेकपामा महत्वपूर्ण शक्ति प्रवाह हुनेगरी एक उल्लेखनीय राजनीतिक प्रवेश पनि भएको छ। विगत लामो समयदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा बलेफी–४, राताघरका निवासी बिष्णु नेपालले नेपाली कांग्रेस परित्याग गरी औपचारिक रुपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको कालिप्रसाद लामाले जानकारी दिनुभयो । उनको प्रवेशलाई स्वागत गर्दै माधव सापकोटा ‘सुबोध’ले यसले स्थानीय संगठनलाई थप उर्जा प्रदान गर्ने बताए।
नेकपा बलेफी–४ का कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न विस्तारित बैठकले पार्टीभित्र सकारात्मक उत्साह पैदा गरेको छ। स्थानीय स्तरमा निरन्तर सक्रियता बढाउँदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन्।









