नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा कांग्रेसले वर्तमान सभापति (शेरबहादुर देउवा)को हस्ताक्षरमा चुनाव नलड्ने दाबी गरेका छन् । उनले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउने र उसकै हस्ताक्षरमा कांग्रेसले चुनाव लड्ने बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि कांग्रेसले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा दल दर्ता गराएको छ । जसकारण कार्यवाहक दिएर बिदा भइसकेको भनिएका देउवा फेरि कांग्रेसको सक्रिय राजनीतिमा फर्केको टिप्पणी भइरहेको छ । कतिपयले चुनावमा टिकट बाँड्ने अभिप्रायले देउवाले आफ्नै हस्ताक्षरमा दल दर्ता गराएको विश्लेषण गरिरहेका बेला महामन्त्री थापाको पछिल्लो धारणा आएको हो ।

उनले अब कांग्रेसमा विशेष महाधिवेशनको विकल्प नभएको पनि जिकिर गरेका छन् । थापाले नयाँ सभापति चुनेर आयोगमा अहिले पेस गरिएको देउवाको हस्ताक्षर फेर्ने पनि बताएका छन् ।
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भने– होइन ।
साथीहरूले फेरि सोध्नुभयो कसरी ?
मैले भने– प्रस्ट छ – अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।
यही कारण हो हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन ।
कुरा स्पष्ट छ, अलमलमा नपरौँ।













