नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर मुलुक कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना विचार र आवाज राख्न सडकमा उत्रिएका युवाहरूलाई केही शक्तिहरूले राज्यसत्ताविरुद्ध प्रयोग गर्न खोजेको बताए । उनका अनुसार ती शक्तिहरूले युवाहरूमार्फत प्रतिगमनको बाटोमा हिँड्ने वातावरण बनाउन खोजिरहेका छन् ।
महासचिव पोखरेलले प्रतिगमनको विरुद्धमा बोल्ने साहस भएको पार्टी नेकपा (एमाले) नै भएको जिकिर गरे । ‘जब कसैले बोल्न नसक्ने अवस्था सिर्जना गरिएको थियो, त्यतिबेला एमालेले संविधानबाहिरबाट बनेको सरकारको वैधतामाथि प्रश्न उठाएको थियो,’ उनले स्मरण गरे ।

जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकार राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै त्यसले मुलुकलाई दशकौँ पछाडि धकेल्ने प्रयास गरिरहेको टिप्पणी गरे ।













