काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले जेनजी आन्दोलनका क्रममा जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको कडा खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले उक्त आरोप झुटो भएको दाबी गरेका छन्।
मेयर साहका अनुसार आन्दोलन सुरु भएदेखि भदौ २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको थियो। उनले महानगरपालिकाको दमकल ५५ पटकभन्दा बढी स्थानमा परिचालन भएको जानकारी दिएका छन्।

उनका अनुसार, महानगरको स्वास्थ्यकर्मी टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको थियो।
बालेनले विशेषगरी सिंहदरबारमा आगलागी नियन्त्रण गर्न भीडले महानगरको दमकललाई जान नदिएको र भित्रै रहेको सेनाको दमकललाई समेत रोकेको बताएका छन्। भीड कम भएपछि मात्र दमकल खटिएको उनले उल्लेख गरेका छन्।
गलत आरोप फैलाउनेहरूलाई सम्बोधन गर्न यो स्पष्टीकरण लेखेको बताउँदै उनले अब सबै मिलेर देशका लागि काम गर्न आग्रह गरेका छन्। उनले दमकलले आगो निभाउँदै गरेको भिडियोहरू पनि सार्वजनिक गरेका छन्।













