काठमाडौँ – यसवर्षको बडादशैँमा मनसुनको प्रभाव पूर्ण रूपमा हट्ने छैन। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार चाडपर्वको अवधिभर देशका विभिन्न भागमा मनसुनको अस्थायी प्रभाव कायम रहने देखिएको छ।
मनसुन सामान्यतया अक्टोबर २ तारिखतिर बाहिरिने भए पनि यस वर्ष भने दशैँका दिनहरूमा पनि यसको प्रभाव देखिने मौसमविद्हरूले बताएका छन्।

असोज १४ (अष्टमी): बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका पहाडी र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।असोज १५ (नवमी): कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने देखिएको छ।
असोज १६ (दशमी): बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विज्ञहरूले दशैँ अवधिभर उपत्यका, तराई र पहाडी क्षेत्रमा मनसुनको प्रभावका कारण अस्थायी वर्षा वा आकाशे बदलीको अवस्था रहिरहने हुँदा सावधानी अपनाउन आग्रह गरेका छन्।
यस वर्षको दशैँ मनसुनमुक्त नहुने भएकाले परम्परागत कार्यक्रमहरूमा केही असुविधा हुन सक्ने महाशाखाले जनाएको छ। यद्यपि, हल्का वर्षा मात्र हुने अपेक्षा गरिएकाले यसले सामान्य जनजीवनमा ठूलो असर नपर्ने आकलन गरिएको छ।













