काठमाडौँ । जेन–जी समूहको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सर्वपक्षीय सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तयार भए पनि संसद् विघटनबारे सहमति नजुट्दा निर्णय स्थगित भएको हो।
अन्तरिम सरकार गठनबारे बिहीबार राति राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच करिब ४ घण्टा लामो वार्ता भएको थियो। वार्तामा कार्कीले गैरसांसदलाई प्रधानमन्त्री बनाउन संविधानले अनुमति नदिने भन्दै संसद् विघटन आवश्यक रहेको अडान राखेकी थिइन्। तर राष्ट्रपति पौडेल संसद् विघटनमा सहमत नभएपछि अन्तिम निर्णय हुन सकेन।

वार्तामा सकारात्मक प्रगति भएको भन्दै शुक्रबार बिहान ९ बजेपछि पुनः छलफल हुने तयारी गरिएको छ।













