प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार भए पनि देशलाई हेपेको सहन तयार नरहेको बताएका छन्।
ललितपुरको गोदावरीमा आइतबार दोस्रो विधान महाधिवेशनमा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘म आफूलाई जसले जतिसुकै हेपोस् मतलब छैन। तर देशलाई हेपेको सहन तयार छैन।’

प्रधानमन्त्री ओलीले यो कुरा सामाजिक सञ्जालसम्बन्धी प्रसंगमा राखेका हुन्। सरकारले दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गरेको छ।
‘एक वर्षदेखि सामाजिक सञ्जालहरू नेपालको कानुनअनुसार दर्ता हुनुपर्छ भनुदा तिमीहरूको संविधान थाहा छैन भनेर अटेरी गर्ने?,’ फेसबुकलगायत सामाजिक सञ्जाललाई लक्ष्य गर्दै उनले भने, ‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा ४ जनाको जागिर खोसियो अरे। ४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान?’
उनले यस्ता जागिरको अवसर सिर्जना गरिने पनि बताए।













