नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले फुटाएर नेकपा एस गठनको चार वर्ष पूरा गरेको दिन शुभकामना सन्देश जारी गर्दै नेपालले विश्व कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य मजदुर किसान तथा उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गर्दै वर्गविहीन समाज, न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु नै भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कम्युनिष्ट आन्दोलनले जन्मैदेखि सामन्तवाद, साम्राज्यवाद र निरङ्कुश शासनविरुद्ध सङ्घर्ष गर्दै राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकालाई प्रमुख एजेन्डा बनाउँदै आएको छ ।













