नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई पार्टीमा स्थान नदिने दाबी गरेका छन् ।
माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको उनको दाबी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेको बताए ।
‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
यस्तो प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन नसक्ने प्रचण्डको भनाइ छ ।
माओवादी केन्द्रलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने उनले बताए ।
उनल भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन सघर्षमा सिँगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन ।’













