काठमाडौं — नेपाली तेक्वान्दोका प्रशिक्षक प्रेम भण्डारीले लगातार तेस्रो वर्ष एशियन तेक्वान्दो युनियनबाट सम्मान प्राप्त गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। यसअघि २०२३ र २०२४ मा पनि सम्मानित भण्डारी तिन वर्ष लगातार सम्मान पाउने पहिलो नेपाली खेलाडी बनेका हुन्।
नेपाल तेक्वान्दो संघले सातदोबाटोमा आयोजना गरेको समारोहमा अध्यक्ष प्रकाश समशेर राणाले उनलाई प्रमाणपत्र प्रदान गर्दै योगदानको उच्च कदर गरे। करिब तीन दशकदेखि तेक्वान्दोमा सक्रिय भण्डारीले २ हजारभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिइसकेका छन्, जसमा धेरैले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका छन्।

२०१८ मा वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पोमा ८० केजी समूहमा स्वर्ण जितेका भण्डारी हाल एशियन तेक्वान्दो महासंघको युथ कमिटी सदस्यसमेत छन्। उनी नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष र गोठाटार डोजाङका संस्थापक पनि हुन्।
भण्डारीले सम्मान ग्रहण गर्दै भने, “यो मेरो मात्र नभई सम्पूर्ण नेपाली तेक्वान्दो समुदायको गर्व हो। म अझै जोशका साथ नयाँ पुस्ताका लागि कार्य गर्नेछु।”













