प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दल नेता राजेन्द्र लिङ्देनले दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार प्रकरणमा मन्त्री नै मुछिएपनि सरकारले छानबिन नगरेको आरोप लगाएका हुन्।

‘टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। एक दुई मन्त्रीको कुरा होइन। सार्वजनिक रूपमा चर्चामा आएका विवादमा आएका एक दर्जन मन्त्रीहरुको छानबिन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।
‘अब भ्रष्टाचार कहाँ कहाँ छ भनेर खोज्नुपरेन। कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने अवस्था छ।
उनले केही कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने बताए।













