काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

मोहन बहादुर बस्नेत र घुस दिने पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्ष/संचालक राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जनही २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने समेत फैसला गरेको छ।
विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।













