काठमाडौं- पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई नगद ३५ लाख रुपैयाँ वा सोही बराबरको बैंक ग्यारेन्टीमा रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपाल बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि योगपीठसम्बन्धी विवादास्पद जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। नेपालको पार्टी नेकपा (एस) ले भने यसअघि आरोपलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै खण्डन गरेको थियो।
पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार अभियोग दायर हुनु आफैंमा दुर्लभ तथा गम्भीर राजनीतिक घटना मानिएको छ।













