राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको बताएका हुन् ।

सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र संविधानले राखेको लक्ष्य पूरा हुने बताउँदै राष्ट्रपति पौडेलले यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सूक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गरेका थिए ।













