सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका वडा नं. ५ का नेकपा एमालेबाट वडा अध्यक्ष पदका प्रत्यासी लुमडी राज खतिवडा नेकपा एमाले परित्याग गरी रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ।
शनिवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा खतिवडासहित ४२ जना विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपा मेलम्ची–५ का सभापति दिपक आलेमगरका अनुसार नवप्रवेशीहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता प्रमुख दल छाडेर रास्वपामा आएका हुन्।

उक्त कार्यक्रममा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क विभागको समन्वय र रास्वपा मेलम्ची–५ को आयोजनामा सांसद सन्तोष परियार, प्रदेश सभापति डा. अच्युतम लामिछाने, पार्टी सभापति रवि लामिछानेका सल्लाहकार प्रमोद न्यौपाने लगायतको उपस्थिति थियो।
सभापति आलेमगरले हालसम्म मेलम्चीको सिन्धुकोट क्षेत्रमा मात्रै ८९ जनाले पार्टी सदस्यता लिइसकेको र थप २५ जना सदस्यता लिनको प्रक्रियामा रहेको जानकारी दिनुभयो।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै लुमडी राज खतिवडाले अबको राजनीति रास्वपाको भएको उल्लेख गर्दै नागरिकमा व्यापक परिवर्तनको अपेक्षा रहेको बताउनुभयो। “अब परिवर्तनको अभियान लिएर जनतामाझ जान जरूरी छ,” उहाँले भन्नुभयो।
खतिवडाले जेठ २६ गते आफ्नो जन्मदिनको अवसरमा रास्वपामा प्रवेश गरेको उल्लेख गर्दै यही दिनबाट आफू रास्ट्रिय स्वतन्त्र पार्टीमा “पुनर्जन्मिएको” घोषणा गर्नुभयो। पार्टीप्रति समर्पित रहँदै आफूले सक्दो योगदान दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
रास्वपाको स्थानीयस्तरमा बढ्दो प्रभावसँगै मेलम्ची क्षेत्रका अन्य नेता तथा कार्यकर्ताहरू पनि पार्टीप्रति आकर्षित हुन थालेका छन्।













