सिन्धुपाल्चोक – नेकपा (माओवादी केन्द्र) बलेफी गाउँपालिका समितिको विस्तारित पदाधिकारी बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमका बारेमा गहन छलफल गर्दै सुझाव संकलन गरेको छ। साथै, बैठकले मनसुनजन्य विपद्का अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासमेत निर्धारण गरेको छ।
गाउँपालिका समितिका अध्यक्ष कालिप्रसाद लामाका अनुसार बैठकले हालसम्म पार्टीले सञ्चालन गरेका गतिविधिहरूको समिक्षा गर्दै विविध महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा वडास्तरीय संगठन सुदृढीकरण, स्थानीय जनसमस्याका विषयमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र पालिकास्तरीय राजनीतिक क्रियाकलापलाई थप सक्रिय बनाउने विषयमा निर्णय गरिएको छ।

अध्यक्ष लामाले आगामी वर्षका नीति तथा कार्यक्रमलाई जनताको आवश्यकता र समृद्धिका सम्भावनालाई मध्यनजर गरेर बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, मनसुनसँगै सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिमा पार्टी र जनप्रतिनिधिको भूमिकाबारे समेत स्पष्ट दिशा तय गरिएको उनले जानकारी दिए।
बैठकमा पालिकास्तरीय पदाधिकारी, वडास्तरीय नेतृत्वहरूको सहभागीता रहेको थियो।














