सिन्धुपाल्चोक, नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटनलाई लिएर सुनकोशी गाउँपालिकामा राजनीतिक तापक्रम चुलिएको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई उद्घाटनको प्रमुख अतिथि बनाउने तयारी भएपछि स्थानीय तह र दलहरू आक्रोशित बनेका हुन्।
गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले औपचारिक विज्ञप्ति जारी गर्दै पालिकाको अनुमति बिना उद्घाटन नगर्न र भ्रष्टाचार आरोप खेपिरहेका व्यक्तिको कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिलाई सहभागि हुन नदिन निर्देशन दिएका छन्। यस्तै, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सुनकोशी गाउँपालिका कमिटीहरूले पनि बस्नेतको उपस्थितिमा उद्घाटन भए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

बस्नेत हाल टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दामा संलग्न रही निलम्बनमा छन्। यद्यपि, उनी उद्घाटन लगायत अन्य सार्वजनिक कार्यक्रममा सक्रिय देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।
स्थानीय तहले सकारात्मक काममा सहकार्यको सट्टा विवाद र विज्ञप्तिमार्फत रोकिने प्रयास गरेको विषयले सार्वजनिक चासो र बहस उत्पन्न गरेको छ। जनताको स्वास्थ्य सेवासँग जोडिएको परियोजनाको उद्घाटन राजनीति र विवादको चपेटामा परेपछि अब कार्यक्रमको भविष्य अनिश्चित देखिएको छ।















