अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै कांग्रेस सांसद बस्नेतको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बन भएको छ।
‘नेपाल दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको विषय इन्टरनेसनल कल मोनिटरिङ र भीओआइपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली (पछि टेरामक्स भनिएको) सञ्चालन गर्ने भन्ने कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण नियमावली, २०५४ को दफा ३४ (ग) को आशयविपरीत तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रुपमा आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रममा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी नेपाल दूरसञ्चार ऐन, २०५३ ले गठन गरेको स्वायत्त संस्था प्राधिकरणको अधिकारलाई हस्तक्षेप गरी प्राधिकरणलाई हानिनोक्सानी गराउने पृष्ठभूमि तयार गरेको,’ आरोपपत्रमा उल्लेख छ ।













