काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएकी छन् ।
सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन् ।

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ,’ मन्त्री राणाले भनिन्। यसैगरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागतरुपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन् ।
मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
सो अवसरमा मन्त्रालयका सचिव अमृत बहादुर राईले वर्तमान कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । साथै उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख गरे ।













