काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्तापक्षको गल्ती र कमजोरी औंल्याउनु नै प्रतिपक्षको प्रमुख दायित्व भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सत्तामा बसेर गलत काम गर्दा प्रतिपक्षले त्यसको खबरदारी गर्नु भ्रम छर्नु वा आरोप लगाउनु नभई सत्य उजागर गर्नु भएको स्पष्ट पारे।

‘सत्तामा बसेकाहरूले सुधारको दिशा नअपनाए जनताबाट प्रतिवाद मात्र नभई हिसाबकिताब खोजिनेछ,’ सापकोटाले चेतावनी दिए। उनले थपे, ‘रूपान्तरण नभए जनताको तागतमा सडकमा लछारेर पछार्ने हो। जनताले ती सबै कुराको हिसाब–किताब गर्नेछन्।’
सत्तापक्षबाट परिवर्तन, देश र जनताप्रति इमान्दारिता तथा जिम्मेवारीबोध देखिएको छैन भन्ने टिप्पणी गर्दै सापकोटाले चेतावनी दिए, ‘नजरअन्दाज गरेर अरूलाई जथाभावी भन्ने र कानुन हातमा लिएर अघि बढे जनताको अदालतले ठेगान लगाउनेछ।’
सापकोटाले लोकतन्त्रको मर्म र जनताको अपेक्षालाई बेवास्ता गरे सत्तापक्षलाई जनताले दण्डित गर्ने स्पष्ट सन्देश दिएका छन्।













