काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले जारी शिक्षक आन्दोलनप्रति कडा असन्तोष जनाउँदै शिक्षकमै समस्या समाधानप्रति अनिच्छा देखिएको आरोप लगाएकी छिन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आन्दोलनमा सहभागी शिक्षकहरू सडकमा गाउन, नाच्न र रमिते बन्न मात्रै सीमित भएको उल्लेख गर्दै गम्भीर संवाद र समाधानको बाटो रोज्न आग्रह गरेकी छिन्।

उनले लेखेकी छिन्, “मैले यो आन्दोलनलाई नजिकबाट नियालेकी छु। धेरै कोणबाट संवादको प्रयास गरेँ, तर शिक्षकहरू संवादमा आउनै नचाहने भन्ने सुनेँ। ऐन अहिले पास नभए विद्यालय नफर्कने भन्ने अडान राख्नु के उचित हो?”
झाँक्रीले संसद र सरकारसँग ऐन पास गर्ने संवैधानिक प्रक्रिया रहेको स्मरण गराउँदै सो प्रक्रिया बाइपास गरेर सडकबाटै ऐन पारित गर्न सकिँदैन भन्ने स्पष्ट पारिन्। उनले आन्दोलनका नाममा विद्यालय बन्द गरी लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पारिएकोप्रति चिन्ता व्यक्त गरिन्।
सरकारले ऐन ल्याउने प्रक्रिया अगाडि बढाइसकेको र त्यसमा संवाद र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षकलाइ विद्यालय फर्कन आग्रह गरेकी छिन्। “राज्यको तलव खाने शिक्षकले विद्यार्थीको भविष्यसँग खेलवाड गर्नु उचित होइन,” झाँक्रीको टिप्पणी छ।
उनको भनाइले शिक्षक आन्दोलन र शिक्षा ऐनको बहसलाई थप तातो बनाएको छ।













