काठमाडौं, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनीत गरिएको छ।
पार्टीको चैत १९ र २० गते सम्पन्न पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिनुभयो।

पुन यसअघि पार्टीको पदाधिकारी बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आउनुहुन्थ्यो। अब भने उहाँलाई पार्टीको औपचारिक संरचनामा समावेश गर्दै उपाध्यक्षको जिम्मेवारी दिइएको हो।
महासचिव गुरूङका अनुसार पुनलाई उपाध्यक्ष नियुक्त गर्नु अघि पार्टीको केन्द्रीय सदस्य तथा स्थायी समिति सदस्यमा समेत मनोनीत गरिएको हो। पदाधिकारी बन्नका लागि स्थायी समिति सदस्य तथा त्यसअगाडि केन्द्रीय सदस्य हुनु पर्ने पार्टीको संरचनाअनुसार उहाँलाई क्रमशः ती पदहरूमा मनोनीत गरिएको जनाइएको छ।
नन्दबहादुर पुनले राष्ट्रपति विद्या भण्डारी कार्यकालमा दुई कार्यावधिसम्म उपराष्ट्रपतिका रूपमा जिम्मेवारी वहन गर्नु भएको थियो। उहाँलाई राजनीतिक अनुभव, नेतृत्व क्षमता र संगठनप्रतिको योगदानको आधारमा उपाध्यक्ष बनाइएको बताइएको छ।
पुनको मनोनयनसँगै माओवादी केन्द्रको नेतृत्व संरचनामा थप सुदृढता आउने विश्वास गरिएको छ।













