काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयमार्फत आफूविरुद्ध फेरि जालझेल गरिएको गुनासो गरेका छन्।
बुधवार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद अघि नबढ्ने चेतावनी दिए।

प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी छलफलपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई कुलमान हटाइएको भन्दै गम्भीर असन्तोष व्यक्त गरे। उनले कुलमानप्रति जनसमर्थन रहेको स्मरण गराउँदै सरकारले उनीप्रति अन्याय गरेको बताए।
राप्रपाका ज्ञानेन्द्र शाहीले ‘टिआरसीसँग कुलमान साटिएको’ भन्ने अभिव्यक्तिलाई पूर्णतः झुटो र बेइमानीपूर्ण भन्दै अध्यक्ष दाहालले सत्यका पक्षमा उभिन मिडियासँग आग्रह गरे।













