काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाउँदै यसलाई गलत निर्णयको संज्ञा दिएका छन्। उनले सरकार उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गर्दै नागरिक असन्तुष्टिलाई समाधान गर्नुपर्ने बेलामा झन् आक्रोश थप्ने काम गरिएको बताएका छन्।

उनले लेखेका छन्,“आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।।”
त्यस्तै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमान घिसिङलाई हटाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै सरकारले कुलमानलाई हटाउनु अन्यायपूर्ण भएको बताए।
उनले भनेका छन्,“कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन l बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो l
कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ । “
सरकारको निर्णयलाई लिएर सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म व्यापक प्रतिक्रिया व्यक्त भइरहेको छ। कुलमान घिसिङलाई हटाउने निर्णय विवादास्पद बनेका कारण यस विषयमा सरकारको आगामी कदम के हुने भन्ने प्रतीक्षा गरिएको छ।













