जलबिरे– जलबिरे भ्याली क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल (क्रान्तिकारी) ले औपचारिक रूपमा स्ववियु सभापति पदका लागि अशोक ढुंगानाको उम्मेदवारी घोषणा गरेको छ। विद्यार्थीको हकहित, शैक्षिक सुधार तथा प्रगतिशील आन्दोलनलाई मजबुत बनाउने लक्ष्यसहित संगठनले नेतृत्व चयनमा आफ्नो दाबी प्रस्तुत गरेको हो।
स्ववियु सभापति पदका लागि अशोक ढुंगानाको उम्मेदवारी रहेको छ भने सचिवमा शिव घिमिरे, कोषाध्यक्षमा नवराज विक, सदस्यहरूमा कविता थापा, सर्मिला भट्टराई, र शुसिल माझी रहेका छन्। उनीहरूले पारदर्शी, उत्तरदायी र इमान्दार नेतृत्वको आवश्यकतामा जोड दिँदै चुनावमा विजय हासिल गर्ने दाबी गरेका छन्।

उम्मेदवारहरूले स्थानीय सरकारबाट प्रथम वर्षका नियमित विद्यार्थीका लागि निःशुल्क शिक्षाको घोषणा गराएको र यसलाई चौथो वर्षसम्म निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, विद्यार्थी अधिकारको सुनिश्चितता, गुणस्तरीय शिक्षा, सहज शैक्षिक वातावरण निर्माण र अवसर पाएर पनि काम नगर्ने प्रवृत्तिलाई परास्त गर्ने प्राथमिकता राखेको बताएका छन्।
स्ववियु चुनाव आगामी ५ चैतमा हुनेछ, अखिल (क्रान्तिकारी) का उम्मेदवारहरूले विद्यार्थीलाई एकताबद्ध भई संगठनलाई विजयी गराउन आग्रह गरेका छन्।













