काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने अन्तिम तयारीमा सरकार लागेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
यसअघि तीनपटक मन्त्रीस्तरीय निर्णयमार्फत स्पष्टीकरण मागिएको भए पनि यसपटक मन्त्रिपरिषद्ले प्रत्यक्ष रूपमा निर्णय गर्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

साउन पहिलो सातामा घिसिङको कार्यकाल समाप्त हुने भए पनि सरकार त्यसअघि नै उनलाई पदमुक्त गर्ने योजनामा रहेको बताइएको छ। यसअघि मन्त्रीस्तरबाट सोधिएको स्पष्टीकरणमा घिसिङले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको भएकाले मन्त्रीलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिएका थिए। अब भने मन्त्रिपरिषद्ले नै उनलाई सोध्ने निर्णय गरेको छ।
यसअघि सरकारले कार्यसम्पादन मूल्यांकनमा घिसिङलाई शून्य अंक प्रदान गरेको थियो। यो विषयले बुधबारको प्रतिनिधिसभा बैठकमा चर्चा पाएको थियो। विपक्षी सांसदहरूले संसदमा यो विषय उठाएपछि सभामुखले सरकारलाई संसदसमक्ष शून्य अंक दिने कारण स्पष्ट पार्न निर्देशन दिएका थिए।
यस घटनाक्रमले नेपालको ऊर्जा क्षेत्रको नेतृत्वमा ठूलो परिवर्तन आउन सक्ने आँकलन गरिएको छ।













