मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् ।
मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गरे । ‘माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ’, प्रचण्डले भने ।

उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उनले बताए । ‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौँ, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौँ’, दाहालले भने ।
अहिले गठबन्धनमा रहेका दलहरू उत्पीडितहरूले पाएको अधिकार खोस्ने धुनमा रहेका प्रचण्डले बताए । अहिलेका सत्तारुढ दलहरू यो संविधान मिचेर, संसद् विगठन गरेर नागरिकका अधिकार खोस्ने प्रयत्नमा रहेका दाहालले बताए । संविधान संशोधनको नाममा पनि सोही षडयन्त्र भएको उनको आरोप छ ।
माओवादीको तागतमा नै अहिलेको व्यवस्था आएको दबी दाहालको छ । गणतन्त्र ल्याउन संयोजनको काम माओवादी केन्द्रले नै गरेको उनले बताए ।
बुर्जुवाहरूका कुरा पत्याउँदा माओवादी पनि ठाउँ ठाउँमा फसेको उनले बताए । माओवादी पनि चिप्लिएको बताउँदै दाहालले अब माओवादी जनता केन्द्रित भएर जनताको मुद्दामा लाग्ने दाहालले प्रतिबद्धता व्यक्त गरे । ‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन, सोचेको भन्दा बढी जनताले माया गरेकाले हामी उम्लियौँ’, उनले भने ।













