सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ। खानेपानी मन्त्रालयको सचिवालय, सांसद प्रमिला कुलुजुको सचिवालय, खानेपानी तथा सरसफाइ डिभिजन, इन्द्रावती गाउँपालिका तथा आयोजना निर्माण व्यवसायी टोलीको संयुक्त सहभागितामा आयोजनाको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा आयोजनाको निर्माण प्रगति, भइरहेको कामको अवस्था, समस्या तथा आगामी कार्ययोजनाबारे स्थलगत जानकारी लिइएको जनाइएको छ। आयोजनाले गाउँपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ तथा सहज खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

अनुगमन टोलीले आयोजना निर्माणको गुणस्तर, समयमै सम्पन्न गर्ने अवस्था तथा स्थानीयस्तरमा देखिएका चुनौतीबारे समेत जानकारी लिएको थियो। आयोजना निर्धारित समयमै सम्पन्न गरी स्थानीय बासिन्दालाई प्रभावकारी रूपमा खानेपानी सेवा उपलब्ध गराउन सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।
अनुगमन तथा निरीक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद प्रमिला कुलुजु, सिन्धुपाल्चोक जिल्ला उपसभापति सरोजा श्रेष्ठको समेत उपस्थिति रहेको थियो। संयुक्त अनुगमनले आयोजनाको वास्तविक अवस्था पहिचान गरी निर्माण कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








