सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनमा ल्याउने पहल तीव्र पारिएको छ। तातोपानी नाका अन्तर्गत डाक्लाङ र इको क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि सरोकारवालासँग संवाद अघि बढाएका छन्।
स्थलगत अनुगमनका क्रममा सांसद पराजुलीले पहिरो प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरेका थिए। उनले लामो समयदेखि सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन, व्यापार–व्यवसाय तथा तातोपानी नाकाबाट हुने आयात–निर्यातमा परेको असरबारे जानकारी लिएका छन्। डाक्लाङ र इको पहिरोका कारण सडक सञ्चालनमा कठिनाइ भएपछि सांसद पराजुलीले सडक तत्काल खुलाउन सम्बन्धित निकाय, स्थानीयवासी तथा अन्य सरोकारवालाबीच समन्वय र संवाद आवश्यक रहेको बताएका छन्।

तर, पहिरो हटाएर तत्काल सडक सञ्चालनमा ल्याउने विषयमा स्थानीयवासी भने सहमत देखिएका छैनन्। पहिरो हटाउने क्रममा थप जोखिम उत्पन्न हुन सक्ने तथा दीर्घकालीन रूपमा सुरक्षित सडक व्यवस्थापन गर्नुपर्ने भन्दै स्थानीयले तत्काल सडक खोल्ने प्रस्तावप्रति असहमति जनाएका छन्। स्थानीयको असहमतिका कारण सडक खुलाउने प्रयास थप जटिल बनेको छ। सांसद पराजुलीले भने स्थानीयको चासो र सुरक्षालाई समेत ध्यानमा राख्दै सबै पक्षसँग संवाद गरेर निकास खोज्ने प्रयास गरिरहेको बताएका छन्।
तातोपानी नाका लामो समयसम्म बन्द रहँदा सीमावर्ती क्षेत्रका व्यवसायी, यातायात व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। त्यसैले सडक सुरक्षित रूपमा सञ्चालनमा ल्याउने र स्थानीयको मागलाई समेत सम्बोधन गर्ने गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।








