सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न मतदानबाट १४९ मत प्राप्त गरि गुरुङ जिल्ला सभापतिमा निर्वाचित भएकी हुन्।
रास्वपा सिन्धुपाल्चोककी संस्थापक जिल्ला सभापतिसमेत रहेकी गुरुङ प्रतिनिधिसभा निर्वाचनपछि पार्टीबाट राजीनामा दिएर बसेकी थिइन्। नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा सभापति पदका लागि गुरुङसहित पाँच जनाले उम्मेदवारी दिएका थिए।

त्यस्तै, उपसभापतिमा सरोजा श्रेष्ठ १२३ मत प्राप्त गरि निर्वाचित भएकी छन्। सचिवमा राजीव हमाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने सहसचिवमा विदुर खड्का १३५ मत प्राप्त गरि निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार सदस्यहरूमा गोर्कण विक्रम सिलवाल, पास तेम्बा शेर्पा, नन्दलाल श्रेष्ठ, नमराज भट्टराई र प्रदीप सिलवाल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनसँगै रास्वपा सिन्धुपाल्चोकले संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।








