सिन्धुपाल्चोकको ईको र डाक्लाङ क्षेत्रमा गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुलीले सक्रिय पहल थालेका छन्।
निर्वाचनका क्रममा अरनिको राजमार्गलाई व्यवस्थित सञ्चालन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका पराजुली निर्वाचित भएको करिब छ महिनामै उक्त प्रतिबद्धता कार्यान्वयनतर्फ सक्रिय देखिएका हुन्।

राजमार्ग खुलाउने विषयमा सांसद पराजुलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी, सडक विभाग, जिल्ला प्रहरी प्रमुखलगायत सम्बन्धित निकायसँग संयुक्त छलफल गरेका छन्। छलफलमा प्राविधिक प्रतिवेदनका आधारमा तत्काल मर्मत अघि बढाई स्थानीयको दैनिक आवागमन, व्यवसाय र जनजीवन सहज बनाउनुपर्नेमा जोड दिइएको छ।
सरकारले पनि आवश्यक मर्मत कार्य सुरु गरिसकेको र सडक यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
यसैबीच आर्थिक वर्ष २०८३/८४ को बजेटमा धुलिखेल–बाह्रबिसे खण्ड विस्तारको अध्ययनका लागि बजेट सुनिश्चित भएको छ। बाह्रबिसे–कोदारी खण्ड स्तरोन्नतिका लागि नेपाल–चीन संयुक्त लगानीमा काम अघि बढाउने प्रक्रिया पनि अगाडि बढिरहेको छ।
पराजुलीले अरनिको राजमार्ग सिन्धुपाल्चोकको आर्थिक गतिविधि, स्थानीय रोजगारी तथा नेपाल–चीन व्यापारको प्रमुख आधार भएकाले लामो समय अवरुद्ध राख्न नहुने बताएका छन्। चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात र राजस्व संकलनका लागि समेत राजमार्ग शीघ्र सञ्चालन आवश्यक रहेको उनको भनाइ छ।








