राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला सभापतिका उम्मेदवार जेपी सिलवालले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभ वा अवसरका लागि नभई पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि भएको बताएका छन्।
जिल्ला अधिवेशनअन्तर्गत यही २२ गते निर्वाचन प्रक्रिया सम्पन्न हुन लागेको सन्दर्भमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सिलवालले उम्मेदवारीपछि केही सञ्चारमाध्यमले आफूविरुद्ध भ्रम फैलाउने प्रयास गरेको दाबी गरे। उनले यस्ता कुप्रचार र पीत पत्रकारिताबाट प्रभावित नहुन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

सिलवालले रास्वपाको संगठनलाई जिल्लाको आम मतदातासम्म विस्तार गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए। गत निर्वाचनमा पार्टीको नीति तथा रणनीतिअनुसार आफूहरूले गरेको मेहनत, दौडधूप र सामूहिक प्रयासलाई संगठन निर्माणको आधारका रूपमा अघि बढाउने उनको भनाइ छ।
संघीय सरकार रास्वपाको नेतृत्वमा रहे पनि स्थानीय तथा प्रदेश तहमा पार्टीको प्रतिनिधित्व नभएको उल्लेख गर्दै उनले केन्द्र सरकारका जनपक्षीय कामलाई जनस्तरसम्म पुर्याउनु र स्थानीय आवश्यकता केन्द्रसम्म जोड्नु चुनौतीपूर्ण रहेको बताए।
‘विगतमा एमाले थियो’ भन्ने भाष्य गलत भएको दाबी गर्दै सिलवालले आफ्नो राजनीतिक अनुभवलाई सशक्त रास्वपा निर्माणमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रतिनिधिहरूले आफ्नो योगदान र प्रतिबद्धता बुझेर जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन्।








