काठमाडौँ । गणेश नेपालीको आत्मदाह लगायतका समसामयिक विषयमा राज्यको जिम्मेवारी र जवाफदेहिता माग भइरहेका बेला विभिन्न सञ्चारगृह (मिडिया हाउस) को गेट अगाडि शंकास्पद गाडीहरू राखेर प्रेसलाई त्रसित पार्न खोजिएको भन्दै पत्रकारहरूले कडा आपत्ति जनाएका छन्।
पत्रकार वसन्त बस्नेत र जगन्नाथ दुलालले सामाजिक सञ्जालमार्फत सरकार र सरकार समर्थकहरूबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र त्रास फैलाउने हर्कत भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो। ‘तर्साउन खोजिएको हो भने हामी तर्सिन्नौं’ पत्रकार वसन्त बस्नेतले राज्य एक संवेदनशील अभिभावक र सबैलाई जोड्ने माध्यम (कनेक्टर) बन्नुपर्नेमा उल्टै मिडिया हाउसका गेटमा शंकास्पद गाडीहरू राखेर जनअपेक्षाकै उपहास गरेको आरोप लगाउनुभएको छ।

सरकार र सम्बन्धित पक्षलाई लक्षित गर्दै उहाँले भन्नुभएको छ, “तर्साउन गरेका हौ यो सब, तिमीहरूले। तर्सिन्नौं। आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौँ।” उहाँले राज्यको यो कदमले प्रेस जगत्लाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्नुभएको छ। ‘भोलि जनताले सिंहदरबार र बालुवाटार घेरिदिए भने के हुन्छ?’ अर्का पत्रकार जगन्नाथ दुलालले सरकारको यो कदमप्रति कडा चेतावनी दिँदै भोलि यस्तै परिस्थिति राज्य सञ्चालकहरूले पनि भोग्नुपर्ने अवस्थातर्फ सचेत गराएका छन् ।
उहाँले लेख्नुभएको छ, “आज मिडिया हाउसका अघिल्तिर तिम्रा गाडी। नबिर्स, भोलि जनताले सिंहदरबार, बालुवाटार यसैगरी गाडीले घेरिदिए भने?” दुलालले सरकार र सरकार समर्थित मित्रहरूलाई यस्ता हर्कत तुरुन्त बन्द गर्न आग्रह गर्नुभएको छ। आलोचना सुन्न नसकेर कायरतापूर्ण तरिकाले गाडी राखेर तर्साउनुभन्दा हिजोका दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेजस्तै सिधै सेना वा प्रहरी पठाउन उहाँले चुनौती दिनुभएको छ। नेपाली प्रेस जगत् राज्य समर्थित जुनसुकै प्रकारको आतङ्कको सामना गर्न पूर्ण रूपमा तयार रहेको उहाँको जिकिर छ।
प्रेस जगत्को ऐक्यबद्धता पछिल्लो समय सार्वजनिक चासो र नागरिक अधिकारका मुद्दाहरूमा प्रश्न उठाउँदा सञ्चार क्षेत्रलाई नियोजित रूपमा दबाबमा राख्न खोजिएको भन्दै पत्रकारहरूले असन्तुष्टि पोखिरहेका छन्। मिडिया हाउसहरूलाई घेरेर वा निगरानीमा राखेर सत्य तथ्य लुकाउन नसकिने भन्दै आम पत्रकारहरूले पूर्ण निष्ठाका साथ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गरिरहने दृढता व्यक्त गरेका छन्।








