काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघले यातायात श्रमिकमाथि भइरहेको धरपकड, ह्विल लक, अत्यधिक जरिवाना तथा दण्डात्मक कारबाही तत्काल रोक्न सरकारसँग माग गरेको छ। श्रमिकमैत्री र व्यावहारिक यातायात नीति लागू नगरे संविधानप्रदत्त अधिकारको संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने संघले चेतावनी दिएको छ।
संघका अध्यक्ष दीपक केसीद्वारा जारी विज्ञप्तिमा उपत्यकामा यात्रु चढाउने–ओराल्ने व्यवस्थित स्थान, पर्याप्त पार्किङ, सार्वजनिक शौचालय, चालक–सहचालकका लागि विश्रामस्थललगायत आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताइएको छ। पूर्वाधार सुधार नगरी श्रमिकमाथि मात्रै दण्डात्मक कारबाही गरिएको भन्दै संघले असन्तुष्टि जनाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा महानगर प्रहरीले राइड चालकको मोटरसाइकलमा ह्विल लक लगाएपछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाप्रति संघले दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
त्यसैगरी, नयाँ बसपार्क, जडीबुटी, कोटेश्वर, कलङ्की र बल्खुलगायत क्षेत्रमा चालक, सहचालक तथा बुकिङ कर्मचारीलाई कानुनी प्रक्रिया विपरीत पक्राउ गरी अपराधीसरह प्रस्तुत गर्ने कार्य तत्काल रोक्न आग्रह गरिएको छ। निर्दोष श्रमिकलाई रिहा गर्न, कानुनी प्रक्रिया पालना गर्न तथा सुधारमुखी र श्रमिकमैत्री यातायात व्यवस्थापन लागू गर्न संघले सरकारसँग माग गरेको छ।








