सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–८ का किसानहरूलाई कृषि उत्पादन वृद्धि र आधुनिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजार वितरण गरिएको छ।
वितरण कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा किसानहरूलाई मिनिटिलर, इलेक्ट्रिक स्प्रे, हजारी लगायतका आवश्यक कृषि औजार हस्तान्तरण गरिएको हो।

यो कार्यक्रम वडा नं. ८ को कृषि विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सञ्चालन गरिएको हो। कार्यक्रमको समन्वय ब्रह्मायणी साना किसान कृषि सहकारी संस्थाले गरेको जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले कृषि क्षेत्रमा यान्त्रिकीकरण विस्तार गर्दै किसानको उत्पादन लागत घटाउने र आम्दानी बढाउने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले उपलब्ध गराइएका औजारको सही सदुपयोग गरी उत्पादन वृद्धि गर्न किसानहरूलाई आग्रह समेत गरे।
स्थानीय किसानहरूले अनुदानमा प्राप्त कृषि औजारले खेतीपातीलाई सहज, छिटो र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखी यस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









