केन्द्रीय प्रवास विभागका प्रमुख तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा को अध्यक्षतामा समसामयिक राजनीति, आगामी बजेट, भावी नीति तथा कार्यक्रम, महाधिवेशन र स्थानीय तह निर्वाचन केन्द्रित वृहत् भर्चुअल छलफल सम्पन्न भएको छ। कार्यक्रममा विश्वका ३३ भन्दा बढी देशबाट प्रवास विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलमा दीपक बोहोराले पार्टी सुदृढीकरणका लागि १० लाख सदस्यता विस्तार अभियान र विदेशमा रहेका नेपालीको सीप, प्रविधि तथा पूँजीलाई देशको विकाससँग जोड्न ‘स्किल बैंक’ स्थापना गर्ने अवधारणा अघि सार्नुभयो।

साउदी अरबबाट सहभागी प्रवास प्रमुख भूपाल भण्डारी ले सातै प्रदेशमा ‘प्रवास टिचिङ अस्पताल’ स्थापना, कन्सुलेट सेवा विस्तार, प्रवासी नेपालीलाई भन्सार छुट तथा डिजिटल मतदान प्रणाली लागू गर्नुपर्ने प्रस्ताव राख्नुभयो। उहाँले “जहाँ नेपाली, त्यहाँ नेपाल; जहाँ नेपाल, त्यहाँ मतदान” अवधारणामार्फत विदेशमै बसेर मतदान गर्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले एनआरएनलाई दोहोरो नागरिकता, वैधानिक रेमिट्यान्समा प्रोत्साहन तथा प्रवासी नेपालीको अनुभव, लगानी र सहभागितालाई राष्ट्रिय विकाससँग जोड्ने नीति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।






