राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यको रूपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रतिनिधित्व गर्नुहुने माननीय प्रमिला कुलुजुको स्वागत, भेटघाट तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम रास्वपाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति तथा वडा समितिहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले क्षेत्रका विविध समस्या, विकासका सम्भावना र आवश्यकताबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय कुलुजुले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवश्यकताअनुसार बजेट विनियोजन, स्थानीय समस्याको समाधान तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
त्यसैगरी, क्षेत्रमा भएका सम्भावित अनियमितता तथा बेथितिको अनुगमन गरी पारदर्शिता र सुशासन कायम गर्न आफू दृढ रहेको उहाँको भनाइ थियो। स्थानीय जनताको सुझाव र आवश्यकतालाई केन्द्रमा राख्दै समग्र सिन्धुपाल्चोकको दिगो विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।













