सिन्धुपाल्चोक –सांसद भरत पराजुली यतिबेला गाउँ-बस्ती डुल्दै मतदातालाई धन्यवाद व्यक्त गर्नमा व्यस्त छन्। स्थानीय तहका समस्या पहिचान गर्ने उद्देश्यसहित उनी गाउँ–गाउँ पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
यसैक्रममा जुगल गाउँपालिकाको बाससिम्ले क्षेत्र पुग्दै उनले त्यहाँ पक्की पुल निर्माण गरी चालु वर्षभित्रै सवारी सञ्चालन हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले दुर्गम बस्तीका नागरिकलाई सहज आवागमनको व्यवस्था गर्ने बताएको उल्लेख गरेका छन्।

गाउँ–गाउँमा पुगेर पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा रोजगारीका विषयमा स्थानीयसँग छलफल गर्दै सांसद पराजुलीले विकासलाई व्यवहारिक र जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। विशेषगरी दुर्गम बस्तीका नागरिकको पहुँचमा सेवा पु¥याउने, अधुरा योजनालाई पूर्णता दिने र नयाँ परियोजनाहरू अघि बढाउनेतर्फ उनको सक्रियता देखिएको छ।
साथै, सांसद पराजुलीले आफूप्रति कुनै गुनासो वा गर्नुपर्ने कामबारे सुझाव भए सिधै व्हाट्सएपमार्फत सन्देश पठाउनसमेत आग्रह गरेका छन्। जनतासँग प्रत्यक्ष र सहज सम्पर्क कायम गर्दै काम गर्ने उनको शैलीलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।स्थानीयवासीले पनि सांसदको प्रत्यक्ष उपस्थितिले आफ्ना समस्याहरू राख्न सहज भएको बताएका छन्।













