काठमाडौंको टोखा नगरपालिका वडा नं. ४ स्थित फैमालचुली, पुरानो धापासी मा.वि.को प्राङ्गणमा “नयाँ वर्षको शुभकामना आदान प्रदान, बृहत सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रम–२०८३” टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। रोयल मुभिज प्रा.लि.को आयोजना तथा टोखा नगरपालिका वडा नं. ४ को सहकार्यमा आयोजित उक्त कार्यक्रमले स्थानीय कला, संस्कृति र स्रष्टाहरूको योगदानलाई उच्च सम्मान दिएको छ।
कार्यक्रममा विभिन्न विधाका स्रष्टा, कलाकार तथा सांस्कृतिक अभियन्ताहरू र टोखा वडा नं. ४ भित्र क्रियाशील विभिन्न बाजा समूहहरूलाई उनीहरूले नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

स्थानीय तहमा सांस्कृतिक पहिचान जोगाउने र नयाँ पुस्तामा यसको महत्व बुझाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्यहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने र परम्परागत कला जगेर्ना गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय प्रतिभा उजागर गर्ने योजना रहेको छ।














