काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला सुनाएको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई समेत सदर गरेको हो।
तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले आयोगले दिएको आधिकारितामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। उनीहरूले विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्व नै अवैध भएको दाबी गरेका थिए। साथै देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले सोही हैसियत कायम रहेको जिकिर गरेका थिए।

तर सर्वोच्चले उक्त दाबी अस्वीकार गर्दै देउवा–खड्काको रिट खारेज गरिदिएको छ। अदालतले संविधान, कानुन र पार्टी विधानअनुसार नै आयोगको निर्णय भएको ठहर गरेको हो।
यो निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसको वैधानिकता स्पष्ट भएको छ भने पार्टी सञ्चालनमा देखिएको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, थापालाई सभापतिको हैसियतमा काम गर्न थप सहज हुने देखिएको छ।













