सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित “जिल्ला स्तरीय अन्तरपालिका पुरुष भेट्रान्स भलिबल प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। खेलकुदको विकाससँगै भेट्रान्स खेलाडीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ भने सुनकोशी गाउँपालिका द्वितीय स्थानमा सीमित रह्यो। त्यसैगरी बलेफी गाउँपालिकाले तृतीय स्थान प्राप्त गरेको छ।

बिजेता टोलीहरूले क्रमशः आकर्षक पुरस्कार प्राप्त गरेका छन्। प्रथम हुने टोलीले नगद रु. २०,००० सहित खसी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. १५,०००, बोका, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। त्यसैगरी तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद रु. १०,०००, भाले, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
उक्त प्रतियोगिता जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको आयोजनामा तथा श्री नवप्रतिभा युवा क्लब, बलेफी–५ सिन्धुपाल्चोकको व्यवस्थापनमा सञ्चालन गरिएको थियो। कार्यक्रमका संयोजक राजिव हमालका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको समापन जिल्ला भलिबल संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा खेलाडी रमेश कुमार खड्काले गर्नुभएको थियो।
प्रतियोगिताले जिल्लामा खेलकुदको विकास र अनुभवी खेलाडीहरूबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
















