काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी रास्वपाका अमरेशकुमार सिंह सँग पराजित भए।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै थापाले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने मनस्थिति बनाएका थिए। उनी निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।
उनको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको आगामी बैठकले गर्नेछ। यसका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।








