नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउँछ ।

निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत गरिँदैछ ।
‘निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिरहेका छौं’।








