नेपाली कांग्रेसका नेता धनराज गुरुङले हालको राजनीतिक घटनाक्रमलाई विगतका विवादास्पद दिनहरूसँग तुलना गर्दै कडा टिप्पणी गरेका छन्। उनले भनेका छन् कि अहिले देखिएको परिस्थिती “फागुन २१, भदौ २३ र २४ को दोस्रो एपिसोड जस्तै” भएको छ।
गुरुङको भनाइ अनुसार देशको राजनीतिमा देखिएको शक्ति संघर्ष, निर्णय प्रक्रियामा देखिएको विवाद र राजनीतिक ध्रुवीकरणले पुराना घटनाको झल्को दिएको छ। उनले लोकतान्त्रिक मूल्य, संविधान र संस्थागत प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि अन्ततः देशका लागि हानिकारक हुने चेतावनी दिए।

सबै औपचारिक/अनौपचारिक बैठकमा आफूले दोहोर्याइरहेको उनले उल्लेख गरेका छन् । ‘तर, यस विषयमा पदाधिकारी, पूर्व पदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि ?,’ उनले अगाडि भनेका छन् ।
आफूले भनिरहँदा कतिपय नेताहरूले बुझ्नै नचाहेको र कतिपय नेताहरूको पदको महत्त्वाकाङ्क्षाले थिचिएको मानसपटलले बुझ्न नसकेको हुनसक्ने उनले भनेका छन् ।
‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो । धेरैलाई थाहै भएन यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो,’ नेता गुरुङले उल्लेख गरेका छन् । सायद थाहा पाउँदासम्म ढिला भइसकेको हुनसक्ने उनले बताएका छन् ।
आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताएका छन् । ‘किन कि यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ,’ उनले भनेका छन् । तथापि आफूसँग सोधेर पनि चुनाव लड्ने नेताहरू हारेको बताउँदै गुरुङ अब चुकचुकाउनुको कुनै अर्थ नभएको बताएका छन् ।













