नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताए ।
उनकाअनुसार स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ । अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए ।

उनले बारम्बार सरकार परिवर्तन हुँदा नीति पनि बदलिने प्रवृत्तिले लगानीकर्तामा अन्योल र अस्थिरता पैदा गरेको उल्लेख गरे। आर्थिक क्षेत्रलाई स्थिर र विश्वसनीय बनाउन सरकारले स्पष्ट, स्थायी र लगानीमैत्री नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
ढकालका अनुसार उद्योग–व्यवसाय विस्तार, रोजगारी सिर्जना र अर्थतन्त्र मजबुत बनाउन निजी क्षेत्रलाई भरोसा दिलाउने नीति अत्यावश्यक छ। उनले सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने पनि जोड दिए।
उनले स्थायी नीति र दीर्घकालीन योजना भएमा मात्रै विदेशी तथा स्वदेशी लगानी बढ्ने र त्यसले देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।












