सिन्धुपाल्चोक । निर्वाचनको सरगर्मी बढ्दै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। यसै क्रममा बाह्रबिसे नगरपालिका वडा नं. ६, गातीबाट नेकपा एमाले लगायतका पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढी प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्।
महिना दिनअघि मात्रै नेकपाका अध्यक्ष प्रचण्डको हातबाट टिका र खादा लगाएर पार्टी प्रवेश गरेका केन्द्रीय नेता एवं बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पाको सक्रियतामा बाह्रबिसे क्षेत्रबाट ठूलो टोली नेकपामा प्रवेश गरेको हो। शेर्पाको जन्मस्थान समेत रहेको गातीमा उनकै नेतृत्वमा भएको यो पार्टी प्रवेशलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपामा प्रवेश गरेलगत्तै गाउँ-गाउँ पुगेर संगठन विस्तारमा जुटेका शेर्पाले पार्टी प्रवेशकै दिन ‘तारा’ चिन्हका उम्मेदवार माधव सापकोटा सुबोधलाई विजयी गराउनु आफ्नो एकमात्र लक्ष्य रहेको घोषणा गरेका थिए। सोही संकल्प अनुसार उनले बाह्रबिसे, भोटेकोशी र सुनकोशी क्षेत्रमा अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा आकर्षित गरिरहेका छन्।
एकै दिन विभिन्न पालिकाबाट १०० भन्दा बढी नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेपछि उम्मेदवार सापकोटाले उत्साह व्यक्त गरेका छन् । नवप्रवेशीहरूलाई खादा ओढाएर स्वागत गर्दै सापकोटाले यसबाट चुनावी अभियानलाई थप ऊर्जा र उचाइ प्रदान गरेको बताएका छन् । सापकोटाले पार्टीमा भित्रिएका सबै नेता तथा कार्यकर्ताहरूलाई क्षमता, अनुभव र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उम्मेदवार सापकोटाले फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन र अरू मतदातालाई पनि सोही दिशामा प्रेरित गर्न क्षेत्र नं. १ का आम नागरिकमा हार्दिक अपिल गरेका छन् । शुक्रबार सुनकोशी-३ को छाप, बाह्रविसे-२ को बुधेपा, दुरुमथली र गातीलगायतका क्षेत्रका अन्य दलका नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका हुन् ।













